Join our Channel

कोदारी सडक १८ दिनपछि खुल्यो, रसुवागढी अझै ठप्प: चाडपर्वअघि खुल्ने आशा

कोदारी सडक १८ दिनपछि खुल्यो, रसुवागढी अझै ठप्प: चाडपर्वअघि खुल्ने आशा

अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा आएको पहिरोका कारण १८ दिनदेखि अवरुद्ध तातोपानी नाका बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। गत साउन १७ मा पहिरो खसेपछि करिब २ सय मिटर सडक क्षति भएपछि आवागमन रोकिएको थियो। उक्त अवरोधका कारण करिब ७ सय कन्टेनर सडकमै रोकिएका थिए।

पहिलो दिन साना सवारीसाधनलाई पास गराइएको थियो भने दोस्रो दिनदेखि आलोपालो गर्दै कन्टेनर आवतजावत सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। “हाल सडक एकतर्फी खुलाइएको छ, तर ठूलो वर्षा भएमा पुनः जोखिम रहन्छ,” उनले भने।

हाल चीनतर्फ रोकिएका करिब ७ सय कन्टेनर र नेपालतर्फको सामान बोक्ने कन्टेनरलाई आलोपालो गर्दै पास गरिँदैछ। दैनिक करिब ६० वटा कन्टेनर नेपाल भित्रिने र यतिनै सङ्ख्यामा चीन पठाइने व्यवस्था गरिएको छ।

यता स्याफ्रुबेंसी–रसुवागढी सडक भने अझै ठप्प छ। गत असार २४ मा आएको बाढी र पछिल्ला पहिरोका कारण ६ सय मिटरभन्दा बढी सडक पूर्णरूपमा क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेका अनुसार सडक पूर्ण सञ्चालनमा ल्याउन अझै एक साता लाग्नेछ।

रसुवागढी नाकामा दैनिक सयभन्दा बढी कन्टेनर ओहोरदोहोर हुने गरे पनि पुल र सडक क्षतिग्रस्त भएपछि अहिले सम्पूर्ण आवागमन रोकिएको छ। चाडपर्व नजिकिएकाले अस्थायी मर्मत गरेर सडक सञ्चालन गर्ने तयारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

Leave a comment