Join our Channel

नागरिकता अब आमाको नामबाट पनि पाइने, विधेयक प्रतिनिधिसभाबाट पारित

अब नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट पनि नेपाली नागरिकता पाउने बाटो खुलेको छ। शनिबार बसेको प्रतिनिधिसभाको बैठकले ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित गरेको छ।

गृहमन्त्री रमेश लेखकले संसदमा विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए। उनले यस विधेयकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई आमाकै नामबाट नागरिकता दिने स्पष्ट कानुनी व्यवस्था गरेको बताए।

गृहमन्त्री लेखकका अनुसार वैदेशिक रोजगारीमा गएकी नेपाली महिलाले विदेशमा सन्तान जन्माए पनि ती सन्तान अब नेपाल फर्किएपछि नागरिकताविहीन हुने अवस्था हट्नेछ।

विधेयकमा उल्लेख गरिए अनुसार –

“नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएर नेपालमा बसोबास गरेका, बाबुको पहिचान नभएका, विदेशी नागरिकता वा राहदानी नलिएका व्यक्तिले स्वघोषणाका आधारमा अङ्गीकृत नागरिकता पाउन सक्नेछन्।”

त्यस्तै, बाबु वा आमामध्ये कुनै एकजना नेपाली नागरिक भएको अवस्थामा १६ वर्ष नपुगेका नाबालकलाई नाबालक परिचयपत्र दिने व्यवस्था पनि विधेयकमा गरिएको छ।

विधेयकमाथिको छलफलमा सांसद प्रकाश ज्वाला, ज्वालाकुमारी साह, प्रेम सुवाल, रामकृष्ण यादव, रञ्जुकुमारी झाले नागरिकताको पुरानो समस्याको समाधान यसले गर्ने विश्वास व्यक्त गरे।

तर सांसद चित्रबहादुर केसीले भने भारतसँगको खुला सीमाका कारण देखिएको नागरिकताको विवाद समाधान गर्न यसले नसक्ने भन्दै चिन्ता व्यक्त गरे।

धेरै सांसदहरूले वास्तविक नेपालीले नागरिकता पाउने सुनिश्चितता र गैरनागरिकले नागरिकता नपाउने कडाइका लागि विधेयक स्वागतयोग्य रहेको बताए।

Leave a comment