Join our Channel

बाघको छालासहित गढवाबाट तीन जना पक्राउ, ९ फिट लामो छाला बरामद

बाघको छालासहित गढवाबाट तीन जना पक्राउ, ९ फिट लामो छाला बरामद

दाङको गढवा गाउँपालिकाबाट बाघको छालासहित तीन जना पक्राउ परेका छन्।

शनिबार राति गुप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

गढवा गाउँपालिका वडा नं. ६ खवरी गाउँस्थित ४१ वर्षीय विक्रम बुढामगरको घरमा लुकीछिपी बाघको छालाको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

पक्राउ पर्नेमा घरधनी बुढामगरसहित राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ४ पदनाहका ३३ वर्षीय अनिल थारू रहेका छन्।

प्रहरीका अनुसार, उक्त घरको माथिल्लो तलामा लुकाइराखिएको पाटे बाघको छाला बरामद गरिएको छ। बरामद छालाको लम्बाइ शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च र चौडाइ ३ फिट २ इञ्च रहेको छ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।

Leave a comment