
आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी अस्पतालमा हाडजोर्नी (Orthopedic) उपचार सेवा सुरु गरिएको छ। यससँगै अस्पतालले पहिलोपटक हाडजोर्नी शल्यक्रिया समेत सफलतापूर्वक सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, अस्पतालले करिब एक हप्ता अघिदेखि हाडजोर्नी तथा नशा रोगसम्बन्धी उपचार सेवा सुरु गरेको हो।
हालै वडानम्बर ३ का करिब ५३ वर्षीय एक पुरुषको हातको हड्डी भाँचिएको अवस्थामा शल्यक्रिया गरी सफल उपचार गरिएको छ। शल्यक्रियामा स्टिल हालेर हड्डी जोडिएको हो।
अध्यक्ष चुमानले बताए, ‘अब यस भेगका नागरिकले हाडजोर्नी उपचारका लागि चितवन, पोखरा वा काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ।’ गाउँपालिकाले आफ्नै स्रोतबाट विशेषज्ञ चिकित्सक डा. राजकुमार शाहलाई नियुक्त गरेर सेवा सुरु गरेको हो।
डा. शाहको नेतृत्वमा हाडजोर्नीका बिरामीलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यसहित उपचार सेवा विस्तार गरिएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका चुमानका अनुसार, अस्पतालले पहिले साना-मसिना शल्यक्रिया गर्दै आएको थियो।
अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले गण्डकी प्रदेशमै पूर्णकालीन हाडजोर्नी सेवा सुरु गर्ने पहिलो अस्पताल आँबुखैरेनी भएको दाबी गरे। यस सेवाबाट आँबुखैरेनी मात्र नभई छिमेकी पालिकाका बासिन्दा समेत लाभान्वित हुने उनले बताए।
यसअघि अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा, हर्निया लगायतका शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ। अस्पतालले पुस १६ गते सुत्केरी सेवा, पुस १३ र मंसिर २२ गते हर्नियाको सफल शल्यक्रिया गरिसकेको छ।