
अमेरिकी अर्बपति उद्यमी इलन मस्कले अमेरिका भित्र तेस्रो शक्तिशाली राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा पोस्ट गर्दै मस्कले आफ्नो नयाँ दल ‘द अमेरिका पार्टी’ सार्वजनिक गरेका हुन्।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको मित्रता टुटेपछि मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका हुन्।
मस्कले आफ्नो पोस्टमा लेखेका छन्, ‘जब देशमा फजुल खर्च र भ्रष्टाचार बढ्छ, लोकतन्त्रको नाममा हामी एक दलीय प्रणालीमा बाँच्छौं। त्यसैले, तपाईंहरूको स्वतन्त्रता फिर्ता दिनका लागि द अमेरिका पार्टी गठन गरिएको हो।’
सर्वेक्षणमा व्यापक समर्थन
अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ मा मस्कले ‘के तपाईं दुई दलीय प्रणालीबाट मुक्ति चाहनुहुन्छ?’ भन्ने पोल आयोजना गरेका थिए। उनको दाबी अनुसार, सो पोलमा दुई तिहाइभन्दा बढी मतदाताले नयाँ दल चाहिएको बताएका थिए।
ट्रम्पसँगको विवादपछि नयाँ दल
मस्कको यो घोषणा ट्रम्पले ‘बिग ब्युटिफुल बिल’ नामक कर कटौती र खर्च वृद्धिको विधेयकमा हस्ताक्षर गरेपछि आएको हो। सो विधेयकको उनले चर्को आलोचना गर्दै आएका थिए। मस्कका अनुसार, उक्त विधेयकले अमेरिकाको बजेट घाटा २ ट्रिलियनबाट २.५ ट्रिलियन डलर पुर्याउने छ, जसले देशलाई ‘डुबाउने’ खतरा बढाएको छ।
मस्कको नयाँ रणनीति
मस्कले २०२६ को अमेरिकी मध्यावधि निर्वाचनमा आफ्नो पार्टीबाट केही कंग्रेस र सिनेट सिटहरूमा उम्मेदवार उठाउने योजना बनाएका छन्। उनले भनेका छन्, ‘२:१ को अनुपातमा तपाईंहरूले नयाँ दल चाहनुभएको छ, त्यसैले अब तपाईंहरूको त्यो चाहना पूरा हुनेछ।’
उनको पार्टी खर्च नियन्त्रण र आर्थिक अनुशासनमा केन्द्रित हुने जनाइएको छ। यद्यपि, पार्टीको सम्पूर्ण घोषणापत्र भने अझै सार्वजनिक भइसकेको छैन।
ट्रम्पको चेतावनी र राजनीतिक विश्लेषण
हालसम्म ट्रम्प पक्षबाट मस्कको घोषणामा औपचारिक प्रतिक्रिया आएको छैन। तर, केही दिनअघि ट्रम्पले मस्कका कम्पनीहरूलाई दिइएको संघीय अनुदान पुनरावलोकन गरिने संकेत दिएका थिए।
राजनीतिक विश्लेषकहरूले भने अमेरिकाको दुई दलीय प्रणाली भत्काउन कठिन हुने उल्लेख गरेका छन्। विगतमा रस पेरोटजस्ता अर्बपतिहरूले स्वतन्त्र उम्मेदवारको रूपमा प्रयास गरे पनि खासै सफल हुन सकेका थिएनन्।
तर, मस्कजस्तो प्रभावशाली व्यक्ति र प्रविधिमा उनको व्यापक पहुँचले नयाँ राजनीतिक शक्ति उभिन सक्ने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।