Join our Channel

आजदेखि सुरु महान् बडादसैं : घटस्थापनासहित जमरा राख्ने परम्परा सुरु

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यस पर्वको पहिलो दिनलाई घटस्थापना भनिन्छ।

आज बिहानै पूजा कोठा वा दसैं घरमा दियो, कलश र गणेश स्थापनासहित दुर्गा देवीको आह्वान गरी पूजापाठ गरिएको छ। बिहान ९:१३ बजे घटस्थापनाको शुभ साइतमा घरघरमा विधिपूर्वक कलश स्थापना गरी जौ रोपेर जमरा राख्ने परम्परा सुरु भएको छ।

धर्मशास्त्रविद्हरूका अनुसार जमरा दुर्गा देवीको प्रिय वस्तु हो। विजयादशमीका दिन यही जमरा टीकासहित प्रसादका रूपमा ग्रहण गरिन्छ। यसले समृद्धि र विजयको प्रतीक मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, शास्त्रीय मान्यताअनुसार सूर्योदयकालमा प्रतिपदा परेको आज घटस्थापनाको उपयुक्त दिन हो।

नौ दिन, नौ देवीको पूजा

बडादसैंको नवरात्रभर दुर्गाका नौ रूपको पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वती विद्या तथा बुद्धिको प्रतीक भएकाले दुर्गाका यी रूपहरू विशेष महत्वका साथ पूजिन्छन्।

टीका र विसर्जनको साइत

समितिका अनुसार असोज १६ गते बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ। यस वर्ष विजयादशमीमा टीका र प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:५३ बजे रहेको छ।

यसरी आजदेखि प्रारम्भ भएको दसैं पर्व पन्ध्र दिनसम्म चल्नेछ र कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ।

Leave a comment