
नेपालले आर्थिक वर्ष २०८१/८२ मा ऐतिहासिक सफलता हासिल गर्दै १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत् भारत र बंगलादेशमा निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६६ लाख रुपैयाँभन्दा बढीको बिजुली निर्यात गरिएको हो। यो अघिल्लो वर्षको तुलनामा निर्यातमा उल्लेखनीय वृद्धि हो।
गत वर्ष २०८०/८१ मा भारतमा मात्र १७ अर्ब ६ करोडको बिजुली निर्यात भएको थियो भने बंगलादेशलाई निर्यात सुरु भएको थिएन। यस वर्ष भारतबाट विद्युत् आयात भने घटेर १२ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ।
विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार अहिले नेपालले दैनिक ७–८ सय मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ। वर्षायाममा नदीहरूमा पानीको बहाव बढ्दा उत्पादन धेरै हुने भएकाले सो समयमा विद्युत् निर्यातमा बृद्धि हुन्छ।
विद्युत् कहां कहां निर्यात भयो?
- भारतमा: डे अहेड र रियल टाइम मार्केटमार्फत
- बंगलादेशमा: डलरमा सम्झौताअनुसार ६.४० सेन्ट प्रति युनिट दरमा
बंगलादेशमा निर्यातका लागि त्रिशूली (१८.६० मेगावाट) र चिलिमे (२१.४० मेगावाट) जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुँदैछ।
त्रिपक्षीय सम्झौता र विस्तारित व्यापार
नेपाल, भारत र बंगलादेशबीच १७ असोज २०८१ मा त्रिपक्षीय सम्झौता भएपछि गत १ असारदेखि पुनः बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु भएको हो।
नेपालको बिजुली ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारत पुगेपछि बेहरामपुर–भेडामारा प्रसारण लाइनमार्फत बंगलादेश पठाइन्छ।
आयातभन्दा बढी निर्यात
२०८०/८१ मा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल अब खुद निर्यातकर्ता राष्ट्र बनेको बताएका थिए। पछिल्लो तथ्यांकले त्यो दाबी थप बलियो बनाएको देखिन्छ, किनभने यो वर्ष आयात घटेर निर्यात अझ बढेको छ।
भविष्यको योजना
भारतलाई थप ३५० मेगावाट बराबरको विद्युत् निर्यातको स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको छ। आगामी भदौबाट सफा पानीपछि पूर्ण क्षमतामा उत्पादन र १,००० मेगावाटसम्मको निर्यात सम्भव हुने प्राधिकरणको विश्वास छ।