Join our Channel

घरमा समृद्धि र सुरक्षाको प्रतीक: आज देशभर नागपञ्चमी पर्व विशेष पूजाआजा गरिँदै

घरमा समृद्धि र सुरक्षाको प्रतीक: आज देशभर नागपञ्चमी पर्व विशेष पूजाआजा गरिँदै

आज देशभर नागपञ्चमी पर्व परम्पराअनुसार धूमधामका साथ मनाइँदैछ। सनातन वैदिक परम्पराअनुसार श्रावण शुक्ल पञ्चमीको दिन नागदेवताको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँसी यो पर्व मनाइने गरिन्छ।

धार्मिक विश्वास अनुसार यस दिन नागको पूजा गरेमा वर्षभर सर्प, नाग, बिच्छी, चट्याङ तथा अन्य प्राकृतिक विपत्तिबाट घर परिवार सुरक्षित रहन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार नागपूजाको परम्परा वैदिक युगदेखि चलिआएको हो।

उहाँका अनुसार “नाग रिसाए पानीको अभाव हुन्छ भन्ने विश्वास भएकाले पानी प्राप्तिका लागि पनि नागलाई खुसी पार्ने चलन बसेको हो।” बराहपुराणमा ब्रह्मा र नागराजबीच संवाद भएको उल्लेखका कारण आजको दिन अझै विशेष मानिन्छ।

शास्त्र अनुसार, आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूल नागको विशेष पूजा गरिन्छ। ब्राह्मण पुरोहितमार्फत विधिपूर्वक पूजा गरी नागको तस्बिर मूल ढोकामा टाँसिन्छ।

आजको दिन विशेषगरी काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी, तथा देशभरका नागदह, कुण्डनाग स्थानहरूमा गाईको दूध, खीर, दुबो, रोटीलगायत परिकार अर्पण गरेर पूजाआजा गरिन्छ।

शास्त्रीय विश्वास अनुसार, नाग जातिले विषालु पदार्थलाई शोषण गरेर मानवीय स्वास्थ्यमा योगदान पुर्‍याउने हुनाले तिनीहरूको पूजा आराधना आरम्भ गरिएको हो। नागपञ्चमी पर्वसँगै वैदिक सनातन धर्मअनुसार चाडपर्वहरूको लहर सुरु हुने धार्मिक मान्यता छ।

Leave a comment