Join our Channel

साउन ३१ देखि पेट्रोलियम पाइपलाइन मर्मत, ७ दिनसम्म ढुवानी बन्द हुने, बजारमा अभाव नहुने निगमको दाबी

साउन ३१ देखि पेट्रोलियम पाइपलाइन मर्मत, ७ दिनसम्म ढुवानी बन्द हुने, बजारमा अभाव नहुने निगमको दाबी

अमलेखगन्जस्थित पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएपछि साउन ३१ गतेदेखि ७ दिनका लागि पाइपलाइनमार्फत इन्धन ढुवानी रोक्ने निर्णय भएको छ।

बिहीबार निरीक्षणमा आएको इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक टोलीले ‘लोडिङ बे’ र भल्भमा समस्या देखिएको निष्कर्ष निकालेपछि मर्मत गर्ने निर्णय भएको हो। मर्मतका लागि पाइपलाइनको ढुवानी पूर्ण रूपमा बन्द गरिने भए पनि नेपाल आयल निगमले बजारमा इन्धन अभाव नहुने दाबी गरेको छ।

निगमका प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यका अनुसार अमलेखगन्ज डिपोमा हाल २५ हजार ५ सय किलोलिटर डिजेल र १७ हजार ५ सय किलोलिटर पेट्रोलसहित ४३ हजार किलोलिटर इन्धन मौज्दात छ, जसले करिब ७ दिनसम्मको आपूर्ति सुनिश्चित गर्छ। उनले भने, “ढुवानी रोकिए पनि बजारमा इन्धनको समस्या आउँदैन।”

अमलेखगन्जबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर र जनकपुर डिपोमा पनि पर्याप्त इन्धन भण्डारण गरिनेछ। लोडिङ बे क्षेत्रमा पाइपको अलाइनमेन्ट बिग्रिएको र भाइब्रेशनको समस्या देखिएकाले पूर्ण मर्मत आवश्यक भएको निगमको भनाइ छ।

दोस्रो चरणमा बनेको पूर्वाधारमा निगमले १ अर्ब ५४ करोड रुपैयाँ र आईओसीले ७५ करोड भारतीय रुपैयाँ लगानी गरेका छन्। यसअघि पनि दुई महिनाअघि यस्तै समस्या देखिएपछि पाइपलाइन ६ दिनका लागि बन्द गरिएको थियो।

यसै क्रममा, आईओसीको टोलीले लोथरमा निर्माणाधीन पाइपलाइन र भण्डारण गृहको पनि अवलोकन गरेको छ। १४ अर्ब ९ करोड रुपैयाँ लागतको उक्त परियोजना ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

Leave a comment