
प्रधानमन्त्री सुशीला कार्की ले मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध संकटका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। सम्बोधनका क्रममा उनले नेपाल सरकारले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र आवश्यक सुरक्षा सहजीकरणका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइएको जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले इरान र आसपासको क्षेत्रमा बढेको तनावले विश्वलाई चिन्तित बनाएको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्याइन्।
उनले भनिन्,
“आज संसारको अर्को कुनामा मध्यपूर्व क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ। विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो।”
प्रधानमन्त्रीका अनुसार मध्यपूर्व क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा व्यवस्थापन र सहजीकरणमा सक्रिय बनाइएको छ। परराष्ट्र मन्त्रालय ले निरन्तर अनुगमन गरिरहेको र आवश्यक परे थप कदम चालिने उनले बताइन्।
प्रधानमन्त्री कार्कीले नेपाली नागरिक जहाँ रहे पनि सरकार उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षामा दृढ रहेको स्पष्ट पारिन्। उनले कठिन परिस्थितिमा देशको नेतृत्व गर्ने जिम्मेवारीलाई आफूले मातृभूमिप्रतिको कर्तव्यका रूपमा लिएको पनि बताइन्।
उनले आफ्नो कार्यकालबारे उल्लेख गर्दै भनिन्,
“मैले सधैं न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा देशको बागडोर जनताले चुनेका प्रतिनिधिको हातमा पुग्नेछ।”
प्रधानमन्त्रीले आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन सबैलाई आग्रह गर्दै होली पर्वको शुभकामना पनि व्यक्त गरिन्। उनले फागुन २१ गते हुने निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताइन्।