
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच जना मन्त्रीहरूको नाम सिफारिस गरेकी छन्। प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको स्रोतले जनाएको छ।
बालुवाटार स्रोतका अनुसार मन्त्रीका लागि अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन, संगीता मिश्र र जगदीश खरेलको नाम सिफारिस गरिएको हो।
स्रोतका अनुसार सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, डा. परियारलाई कृषि, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मिश्रालाई स्वास्थ्य र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
राष्ट्रपतिको कार्यालयका अनुसार सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार हुने छ। यसअघि प्रधानमन्त्री कार्कीले गृह मन्त्रालयमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयमा रामेश्वर खनाल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङलाई जिम्मेवारी दिएकी थिइन्।
यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने निश्चित भएको छ।