
पूर्वप्रधानमन्त्री तथा नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राजनीतिलाई सुधार नगरी अन्य क्षेत्रमा सुधार सम्भव नरहेको बताएका छन्।
शनिबार राजधानी काठमाडौंमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले अहिले मुलुकको राजनीति निकै विकृत भइसकेको बताएका छन्। उनले भने, “राजनीति अहिले धेरै फोहर भइसकेको छ। हामी राजनीतिलाई सफा र सुशासनयुक्त बनाउन प्रयासरत छौं। जब राजनीति सुध्रिन्छ, तब मात्रै कानुन, संविधान र अन्य क्षेत्रमा सुधार सम्भव हुन्छ।”
भट्टराईले शिक्षा क्षेत्रमा सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए। उनले भने, “निजी क्षेत्रलाई अलग्याएर शिक्षा सुधार सम्भव छैन। सरकारी र निजी क्षेत्र मिलेर शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ।”
उनको भनाइमा अहिलेको प्रमुख चुनौती राजनीति सुधार हो, जुनबाट मात्रै देशको समग्र विकास सम्भव छ।