Join our Channel

नेपालमा संसदीय प्रणाली ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने सिस्टम’ भएको दाहालको टिप्पणी

नेपालमा संसदीय प्रणाली ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने सिस्टम’ भएको दाहालको टिप्पणी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय प्रणालीलाई कडा रूपमा आलोचना गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘समाजवादी दर्शनको रूपरेखा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भएको टिप्पणी गरे।

अध्यक्ष दाहालले जनवादी क्रान्तिको समयमा मार्क्सवाद प्रचार गर्दा संसदीय व्यवस्थालाई यस्तै भनेर व्याख्या गरिएको स्मरण गरे। उनले अहिले समितिको प्रतिवेदनमाथि भइरहेको बहस पनि त्यस्तै भएको बताए।

उनले भने, “निजामती विधेयकमा कुलिङ पिरियडको विषय उठाउँदै खसीको टाउको देखाइएजस्तो लागे पनि बेच्दा कुकुरको मासु बेचिएको जस्तो देखिन्छ।”

उनका अनुसार अहिले संविधानका मूलभूत मान्यतालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने विचार एकातिर छ भने, संविधानका प्रगतिशील धाराहरू उल्ट्याउने प्रवृत्ति अर्कातिर रहेको छ।

दाहालले थपे, “हामीले जनवादी क्रान्तिमा भन्थ्यौं— संसदीय प्रणाली भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो। अहिले पनि त्यही जस्तो भइरहेको छ।”

उनले सरकारमा हुँदा समाजवादतर्फ लैजाने प्रयास गरेको दाबी गर्दै भने, “नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भइसकेको छ। अब नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरिसकेको छ।”

उनका अनुसार समाजवादको आधार बनाउने जिम्मा कम्युनिस्टहरूले नै लिनुपर्ने छ।

Leave a comment