Join our Channel

बैंकिङ क्षेत्र सुधारका लागि नेपाल राष्ट्र बैंकद्वारा तीन सदस्यीय कार्यदल गठन

बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकद्वारा तीन सदस्यीय कार्यदल गठन

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकमा डा. रेवतबहादुर कार्की रहेका छन्।

राष्ट्र बैंकले बैंकिङ प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र ग्राहकमैत्री बनाउन सुझाव दिन कार्यदल गठन गरेको हो। कार्यदलमा पूर्वबैंकर भुवनकुमार दाहाल सदस्यका रूपमा रहनुभएको छ भने नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिवको भूमिकामा छन्।

एक महिनाभित्र सुझाव पेश गर्ने कार्यादेश

कार्यदललाई गठन गरिएको मितिबाट एक महिनाभित्र आवश्यक सुझाव पेश गर्न कार्यादेश दिइएको छ। गभर्नर कार्यालयका अनुसार कार्यदलले बैंकिङ नीतिलाई उदार तर विवेकपूर्ण बनाउने, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण प्रणाली विकास गर्ने र ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायहरूबारे सुझाव दिनेछ।

ग्रे लिस्टबाट बाहिरिन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण

नेपाललाई फाइनान्सियल एक्शन टास्क फोर्स (FATF) को ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे समेत कार्यदलले सिफारिस गर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थाबीच गाभ्ने र प्राप्ति प्रक्रियामा देखिएका समस्या र समाधान उपायबारे पनि कार्यदलको प्रतिवेदनमा समेटिनेछ।

पुँजी बजार विकासमा केन्द्रीय बैंकको सहकार्य

कार्यदललाई पुँजी बजार विकासका लागि नेपाल राष्ट्र बैंकको सहकार्यात्मक भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा पनि अध्ययन गर्न भनिएको छ।

Leave a comment