Join our Channel

पर्यटन क्षेत्र पुनर्रुत्थानका लागि सरकार, बोर्ड र व्यवसायीको ऐक्यबद्धता

पर्यटन क्षेत्र पुनर्रुत्थानका लागि सरकार, बोर्ड र व्यवसायीको ऐक्यबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा पर्यटन पुनर्रुत्थानका विषयमा आइतबार व्यापक छलफल भएको छ। नेपालका पर्यटनसम्बन्धी संघ–संस्था, होटल व्यवसायी, ट्राभल एजेन्सी, टुर अपरेटरलगायत प्रतिनिधिहरू सहभागी बैठकले हालैका चुनौतीहरूलाई अवसरमा बदल्दै नेपाललाई अझ सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने ऐक्यबद्ध प्रतिबद्धता जनाएको हो।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष हरिप्रसाद मैनालीले नीतिगत अड्चन हटाएर निजी क्षेत्रसँग मिलेर पर्यटन पुनर्रुत्थान गर्ने योजना अघि बढाइएको बताए। उनले भने, “नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नेपाल सुरक्षित गन्तव्य भएको सन्देश हामी विश्वभर पुर्‍याउँदैछौं।”

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले सक्रिय पर्यटन प्याकेज सार्वजनिक गर्नुपर्नेमा जोड दिए। पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले ट्रेकिङ र साहसिक पर्यटन गन्तव्यहरू सुरक्षित भइसकेको र पर्यटक आवागमन सहज बनाउन तयार रहेको जानकारी दिए।

नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले पाहुनाका लागि स्वागत र सेवामा कमी नहुने उल्लेख गर्दै साहसिक पर्यटन अझै सक्रिय रहेको बताए। नाटा अध्यक्ष कुमारमणि थपलियाले नेपाल सुरक्षित छ भन्ने सन्देश दूतावास र प्रवासी नेपालीमार्फत विश्वभर पुर्‍याउनुपर्ने बताए।

पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले छोटो अवधिमै रिकभरी गर्नुपर्नेमा जोड दिए भने पाटाका महासचिव नरेन्द्रदेव भट्टले दूतावास र विदेशी नियोगहरूसँग समन्वय गरी सुरक्षा सुनिश्चित गर्नुपर्ने धारणा राखे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका संकटपछि समेत नेपालले पर्यटन पुनरुत्थान गर्न सफल भएको उदाहरण दिँदै यो पटक आत्मविश्वासका साथ अझ छिटो रिकभरी गर्ने लक्ष्य राखिएको बताए।

सोमबार पाँचतारे र चारतारे होटल व्यवसायीसँग भएको छुट्टै छलफलमा पनि पर्यटकको स्वागतका लागि होटल व्यवसायीहरू पूर्ण रूपमा तयार रहेको र सरकारले सहजीकरण गरिदिने अपेक्षा व्यक्त गरिएको थियो।

बैठकले सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर नेपालको पर्यटन क्षेत्रलाई पुनः सक्रिय बनाउने, सुरक्षित गन्तव्यको छवि बढाउने र दीर्घकालीन पुनर्रुत्थानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ।

Leave a comment