
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ। देशभर हाल मनसुन सक्रिय छ भने भारतको उत्तर प्रदेश आसपास विकसित भएको न्यूनचापीय प्रणालीको समेत असर परेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा हुरीसमेत चल्न सक्ने महाशाखाले जनाएको छ।
मौसम महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान र गेग्रान बहावको उच्च जोखिम रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।
विशेष गरी नदी, खोलानाला आसपासका क्षेत्र, कृषि क्षेत्र, सडक यातायात, हवाई उडान प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण, स्थानीय निकाय, सुरक्षा निकाय, तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।