
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले हाल देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रमा र अन्य थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसम:
आज राति कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा साधारण बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी प्रदेशको केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही भू–भागमा हावाहुरी चल्न सक्ने बुलेटिनमा उल्लेख गरिएको छ।
मौसमविद्हरूले जोखिमपूर्ण क्षेत्रहरूमा सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।