
उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले लाओसलाई शानदार ९–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ। पहिलोपटक कप्तानी गरिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले एक्लैले चार गोल गरेकी छन्।
खेलको सुरुवातमै नेपालले अग्रता बनाएको थियो। १२औँ मिनेटमा अनिता बस्नेतले साम्बाको हेड पासमा गोल गर्दै खाता खोलिन्। पहिलो हाफमा नेपालले २–० को अग्रता बनायो, जसमा दोस्रो गोल सावित्राले ४४औँ मिनेटमा अनिता बस्नेतको पासमा गरिन्।
दोस्रो हाफमा नेपाल अझ आक्रमक देखियो। ४७औँ मिनेटमा सरु लिम्बूले गोल गर्दै ३–० बनाइन्। त्यसपछि साम्बाले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो, ७५औँ मिनेटमा ह्याट्रिक, र ७६औँ मिनेटमा चौथो गोल गर्दै नेपाललाई ६–० को स्थिति दिलाइन्।
यसपछि रश्मीकुमारी घिसिङ (५६औँ मिनेट) र अनिता केसी (८३औँ मिनेट) ले गोल थपे। ८८औँ मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत भयो। खेलमा लाओसले एक आत्मघाती गोलसमेत खाएको हो।
यो खेल नेपालको १००औँ अन्तर्राष्ट्रिय महिला फुटबल खेल पनि हो। नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई विश्राम दिइएको थियो।
नेपाल अब आफ्नो समूह ‘एफ’ मा उज्वेकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।