Join our Channel

नेपाली कांग्रेस दाङमा १४औं महाधिवेशन अपूरो, चार वर्षपछि पनि महासमिति सदस्य चयन हुन सकेन

नेपाली कांग्रेस दाङमा १४औं महाधिवेशन अपूरो, चार वर्षपछि पनि महासमिति सदस्य चयन हुन सकेन

नेपाली कांग्रेस दाङमा सम्पन्न १४औं महाधिवेशनले चार वर्षपछि पनि पूर्णता पाउन सकेको छैन। १५औं महाधिवेशनको तयारी सुरु भइसकेको बेला समेत क्षेत्र नं. ३ मा महासमिति सदस्यहरूको निर्वाचन रोकिएको छ।

पार्टीको विधान अनुसार, महाधिवेशन प्रतिनिधि निर्वाचित भएको ३५ दिनभित्र महासमिति सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान छ। तर, दाङ क्षेत्र नं. ३ मा यो प्रक्रिया चार वर्षदेखि स्थगित छ।

क्षेत्र नं. ३ बाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। विधानअनुसार सो क्षेत्रबाट खुला, महिला, जनजाति, खस आर्यलगायत समावेशी ढाँचामा ११ जना महासमिति सदस्य चयन गर्नुपर्ने व्यवस्था छ। तर, त्यसको निर्वाचन आजसम्म हुन सकेको छैन।

निर्वाचन अधिकृत प्रकाश डाँगीका अनुसार, पार्टी नेतृत्वले आवश्यक राजनीतिक वातावरण तयार नगरेकाले निर्वाचन सम्पन्न गर्न सम्भव नभएको हो। “निर्वाचनको वातावरण पार्टी नेतृत्वले नबनाएपछि हामीले पनि जिम्मेवारीबाट राजीनामा दिनुपर्‍यो,” उनले बताए।

त्यस्तै, पछि गठन भएको कुमारराज श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले समेत राजीनामा दिएपछि प्रक्रिया पूर्ण रूपमा रोकिएको छ।

क्षेत्र नं. ३ का नेपाली कांग्रेस सभापति जगतबहादुर खड्काले पनि निर्वाचन हुन नसकेको पुष्टि गर्दै आन्तरिक कारण र समन्वयको अभावले प्रक्रिया अघि बढ्न नसकेको बताए।

स्रोतका अनुसार, विधानअनुसारको प्रक्रिया अघि बढाउँदा केही वरिष्ठ नेताहरू महासमिति सदस्यमा नपर्ने अवस्था आउँदा संस्थापनइतर समूहले निर्वाचनमा अवरोध पुर्‍याएको आरोप लगाइएको छ।

विधानमा स्पष्ट रूपमा उल्लेख छ कि महाधिवेशन प्रतिनिधिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरूबाट क्रमअनुसार आवश्यक संख्यामा महासमिति सदस्य चयन गर्नुपर्ने हो। तर, उक्त प्रावधानको कार्यान्वयनमा ढिलाइ हुँदा १४औं महाधिवेशन अझै औपचारिक रूपमा अधुरो छ।

एक स्थानीय कांग्रेस नेताले भने,

“प्रदेश र केन्द्रले १४औं महाधिवेशन पूरा नगरी नयाँ महाधिवेशनतर्फ लाग्नु आफैंमा विडम्बना हो।”

हालसम्म दाङ क्षेत्र नं. ३ मा न त निर्वाचन मिति तोकिएको छ, न त समितिको पुनर्गठन भएको छ।

Leave a comment