Join our Channel

नितु पौडेल आत्मदाह प्रकरण : गायक बाबुल गिरीमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

नितु पौडेल आत्मदाह प्रकरण : गायक बाबुल गिरीमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

गायिका नितु पौडेल आत्मदाह प्रकरणमा संलग्न भनिएका गायक बाबुल गिरीमाथि प्रहरीले थप अनुसन्धान गर्न ५ दिनको म्याद पाएको छ।

अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप म्याद स्वीकृत गरेको हो। कात्तिक १ गते अनामनगरस्थित याम तिलक स्टुडियोभित्र आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको कात्तिक ७ गते उपचारका क्रममा मृत्यु भएको थियो।

पौडेलका आफन्तहरूले गायक गिरीविरुद्ध आत्मदाह दुरुत्साहनको आरोपमा जाहेरी दर्ता गरेका छन्।

घटनाको पृष्ठभूमि

कात्तिक १ गते दिउँसो करिब साढे २ बजेतिर स्टुडियोभित्रै नितु पौडेलले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। उनलाई तत्काल बर्न अस्पताल पुर्‍याइएको थियो, जहाँ उनको ५५ प्रतिशत शरीर जलेको बताइएको छ।

उक्त घटनामा गायक बाबुल गिरी पनि सामान्य घाइते भएका थिए। उनीहरूको ७ वर्ष लामो प्रेम सम्बन्ध रहेकाले घटना व्यक्तिगत विवादबाट उत्पन्न भएको परिवारजनले बताएका छन्।

परिवारको आरोप

मृतक नितुको परिवारले गायक गिरीमाथि विवाहको प्रलोभन दिएर शोषण गरेको र पछि विवाह गर्न इन्कार गरेको आरोप लगाएका छन्। जाहेरीका अनुसार सोही कारणले नितुले मानसिक तनाव सहन नसकी आत्मदाह गरेकी हुन्।

प्रहरीको भनाइ

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, “प्रकरण अझै अनुसन्धानको चरणमा छ। अदालतले थप पाँच दिनको म्याद स्वीकृत गरेको छ।”

Leave a comment