
नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको छ। यो जितसँगै लुम्बिनीको प्लेअफमा पुग्ने सम्भावना निकै बलियो बनेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
लुम्बिनीका डार्सी सर्टले ४४ बलमा ६ चौका र २ छक्का सहित ५७ रन बनाएर टोलीलाई जिताउने प्रमुख भूमिका खेले। उनीसँगै सन्दीप जोराले १५ बलमा २४ रन, दिलिप नाथले १६ रन योगदान दिए।
निरोसन डिकवेल्ला २९ रनमा र शेर मल्ल १ रनमा अविजित रहे। विराटनगरतर्फ सुवास भण्डारी र कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए भने वसिर अहमदले १ विकेट लिए।
त्यसअघि विराटनगर किंग्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। लोकेश बमले ४२ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३५ रन बनाए।
विराटनगरका ओपनर जर्ज मुन्से (०) र फाफ डु प्लेसिस (१२) सस्तैमा आउट हुँदा टोली सुरुवातमै दबाबमा परेको थियो। फाफलाई लुम्बिनीका युवा बलर अभिषेश गौतमले विकेटकीपर निरोसन डिकवेल्लाबाट स्टम्पिङ गराएका थिए।
साम हेज्जलेटले २७ रन, वसिर अहमदले १९ रन, मर्चेन्ट डी लाङ्गेले १० रन, र कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे।
लुम्बिनीका शेर मल्ल उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। अभिषेश गौतम, रुविन ट्रम्पलमेन र जे जे स्मिथले १–१ विकेट हात पारे।
यो जितसँगै लुम्बिनी लायन्सले ६ खेलमध्ये ३ जित सहित अंकतालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ। विराटनगर किंग्सले भने ६ खेलमा ४ जित र २ हार बेहोरेको छ।
बिहीबार NPL मा दुई खेल हुनेछन्—पहिलो खेल पोखरा एभेन्जर्स–काठमान्डु गोर्खाज (११:४५ बजे) र दोस्रो खेल सुदूरपश्चिम रोयल्स–चितवन राइनोज (४ बजे)।