
पाल्पा जिल्लाको माथाँगढी गाउँपालिका–४ मा भएको निर्घात कुटपिट घटनामा एक वृद्धाको मृत्यु र उनका श्रीमान गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा ७६ वर्षीया फुलमाया जिसी रहेका छन् भने उनका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी गम्भीर घाइते भएका पाल्पा प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा सोही स्थानका ३७ वर्षीय मिनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिनबहादुरले सोमबार राति जिसी दम्पतीको घरमै पुगेर कुटपिट गरेका थिए।
कुटपिटबाट फुलमायाको घटनास्थलमै मृत्यु भएको थियो भने प्रेमबहादुर गम्भीर घाइते भएका छन्।
उनीलाई प्रारम्भिक उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको र त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका आरोपित विकलाई झडेवामा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले जानकारी दिए।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।