
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार २०८४ को आम निर्वाचनसम्म निरन्तर जाने स्पष्ट पारेका छन्।
भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनीपुर्जा वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारबारे फैलाइएका हल्लाहरूको खण्डन गर्दै सरकार ढल्दैन भन्ने दृढता व्यक्त गरे।
उनी भन्छन् —
“सरकार ढल्छ भनेर कराउनेहरू कराऊन्। म अझ एक वर्ष प्रधानमन्त्री हुन्छु। त्यसपछि शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरिनेछ। गठबन्धन चुनावसम्म कायम रहनेछ।”
प्रधानमन्त्रीले देश विकासको गतिमा अघि बढिरहेको बताउँदै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा परिवर्तन भएको जनताले महसुस गरिसकेको पनि बताए।
भूमिहीनलाई जग्गा, स्थायित्व र समृद्धिको सन्देश
ओलीले झापाको कनकाई नगरपालिकामा आयोजित कार्यक्रममा २ सय भूमिहीनलाई जग्गा धनीपुर्जा वितरण गरे।
उनले भने —
“भूमिसम्बन्धी सबै समस्या चाँडै समाधान गरिनेछ। जमिन खेर जान दिने होइन, ठूला चाक्ला बनाएर व्यावसायिक खेती गरौं।”
उनको अनुसार वर्तमान सरकार स्थायित्व, सुशासन र जनमुखी नीतिका साथ अघि बढिरहेको छ। भूमिहीन वर्गको अधिकार सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणको बाटो खुलाउँदै गरिएको यो कार्यक्रम सरकारको प्राथमिकतामा रहेको संकेत पनि हो।