
दशैं–तिहारको लामो बिदा, खुला आकाश र अनुकूल मौसमसँगै पोखराको पर्यटन क्षेत्र पुनः जीवन्त बनेको छ। केही समयदेखि सुस्त देखिएको पोखरामा अहिले आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको छ।
लेकसाइड, ड्यामसाइडदेखि अन्नपूर्ण ट्रेक मार्गसम्म पर्यटकको भीडले स्थानीय व्यवसायीहरूमा उत्साह ल्याएको छ। होटल, रेस्टुरेन्ट, ट्रेकिङ एजेन्सी र अन्य पर्यटन सेवामा चहलपहल बढेपछि पर्यटन क्षेत्रमा पुनः ऊर्जा थपिएको व्यवसायीहरूले बताएका छन्।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, लामो बिदा र राम्रो मौसमका कारण अहिले लेकसाइडका करिब ९० प्रतिशत होटल भरिएका छन्। उनले भने, “पोखराको पर्यटन केही समयपछि पुनर्जीवित भएको छ। आन्तरिक र बाह्य दुवै पर्यटकको आगमनले बजारमा सकारात्मक माहोल ल्याएको छ।”
सुवेदीका अनुसार, पोखरामा हाल करिब ८ खर्ब रुपैयाँभन्दा बढी लगानी पर्यटन क्षेत्रमा भएको छ, जसमा करिब ६ खर्ब होटल व्यवसायमै लगानी छ। हाल पोखरामा करिब १,२०० होटल सञ्चालनमा छन्, जसले एकैपटक ४० हजार पाहुनालाई समायोजन गर्न सक्छन्।
पोखराको आकर्षण:
अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप फ्लायर र ट्रेकिङका पदमार्गहरूले पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्य बनाएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (TAN) पोखराका अध्यक्ष कृष्ण आचार्यका अनुसार, अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल र घोरेपानी–पुनहिल ट्रेकमार्गहरूमा दैनिक हजारौँ ट्रेकर पुग्ने गरेका छन्। उनले भने, “पोखरा नेपालका लागि पदयात्राको प्रवेशद्वार हो, अहिले आन्तरिक र विदेशी दुवै ट्रेकरको आगमन उत्साहजनक छ।”
आचार्यले पोखराको पर्यटनलाई दीर्घकालीन बनाउनका लागि पदमार्ग संरक्षण, पूर्वाधार विकास र सरकारी चासो आवश्यक रहेको बताए।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पर्यटकको चहलपहल देख्न पाउँदा व्यवसायीहरू उत्साहित भएको बताए। “तिहारमा रेस्टुरेन्ट र बारहरूमा विदेशी पर्यटकको भीड छ, यसले व्यवसायमा नयाँ आशा जगाएको छ,” उनले भने।
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले दिगो पर्यटनको लागि दीर्घकालीन योजना र पूर्वाधार विकासमा सरकारी ध्यान आवश्यक रहेको बताए। उनले भने, “पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको केन्द्र हो। यसको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ।”
पोखराको भविष्य:
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको संख्यामा अझ वृद्धि हुने अपेक्षा गरिएको छ। फेवाताल किनारका रेस्टुरेन्ट र क्याफेहरू साँझमा जीवन्त वातावरण सिर्जना गरिरहेका छन्। डुङ्गा सयर, सराङकोटबाट सूर्योदय अवलोकन, विश्व शान्ति स्तूपा भ्रमण, डेभिस फल्स र गुप्तेश्वर गुफा अवलोकनजस्ता गतिविधिले पर्यटकलाई सधैं लोभ्याउँछन्।