Join our Channel

गोरखा हुँदै वैकल्पिक यात्रा: पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गाडीले गोरखा बजार भरिभराउ

मुग्लिन–नारायणगढ र मुग्लिन–मलेखु सडकखण्डमा लगातार पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएपछि अहिले गोरखा सडक वैकल्पिक मार्ग बनेको छ।

गत शुक्रबारदेखि राजमार्ग अवरुद्ध भएपछि पोखरा, बाग्लुङ, म्याग्दी, मुस्ताङ, लम्जुङलगायतका गाडीहरू आँबुखैरेनी हुँदै गोरखा बजार, आरुघाट, धादिङबेशी भएर मलेखु पुग्ने गरेका छन्।

गोरखा दरौँदी यातायात प्रालिका अध्यक्ष दीपक बोहोराका अनुसार विशेष गरी माइक्रोबस, कार, जीप, भ्यान र मोटरसाइकलहरू मध्यपहाडी लोकमार्ग प्रयोग गर्न थालेका हुन्।

“गोरखा–आरुघाट–धादिङबेशी भएर मलेखु पुग्दा करिब दुई घण्टा बढी लाग्छ तर यात्रुहरू सुरक्षित रूपमा गन्तव्य पुग्न सकेका छन्,” बोहोरा भन्छन्।

बजारमा गाडीको चाप

स्थानीय व्यापारीहरूका अनुसार दशैं नजिकिँदै गर्दा गोरखा बजार आफैं पनि व्यस्त रहने तर हाल बाहिर जिल्लाबाट आएका गाडीले झन् भीड बढाएको छ।
हरमटारीचोकका व्यापारी भरत भट्ट भन्छन् –

“पोखरा, बेसीसहर, दमौलीदेखि आएका गाडीहरू गोरखा बजार हुँदै गुड्दा असामान्य भीड देखिएको छ।”

पहिरोले ठप्प यातायात

  • मुग्लिन–नारायणगढ सडक: तुइनखोलामा खसेको ठूलो पहिरोका कारण गत शुक्रबारदेखि बन्द।
  • मुग्लिन–मलेखु सडक: सोमबार राति जवाङखोलामा खसेको सुख्खा पहिरोले मंगलबार बिहानदेखि अवरुद्ध।

यसै कारण सयौं सवारी साधन अहिले दैनिक रूपमा वैकल्पिक गोरखा मार्ग प्रयोग गरिरहेका छन्।

Leave a comment