
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको चुप्पीप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेको छ।
भिजिट भिसाको नाममा भइरहेका मानव तस्करीका घटनामा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै उनीहरूको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा आवाज उठाउँदै आएका छन्।
आजको बैठकमा रास्वपाका सांसदहरू वेल घेरेर बसेका थिए तर नाराबाजी भने गरेका छैनन्। अघिल्ला बैठकहरूमा भने उनीहरूले निलो रिबन लगाएर नाराबाजी गर्दै विरोध जनाएका थिए। राप्रपाले भने आज पनि संसद्मा अनुपस्थित रहँदै बैठक बहिष्कार गरेको हो।
बैठकमा रास्वपाका सांसद हरि ढकालले मानव तस्करविरुद्धको आन्दोलन अझै जारी रहेको स्पष्ट गरे। उनले लाखौँ नेपालीहरू ठगिएको विषयमा सरकार बेखबर बनेको भन्दै आलोचना गरे। उनले गृहमन्त्रीले संसद्मा जवाफ दिने क्रममा मुद्दाको खण्डन नगरेर जनताको आवाजमाथि अपमानजनक टिप्पणी गरेको आरोप समेत लगाए।
यसैबीच, सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउँदै नियमित कार्यसूचीमा प्रतिनिधिसभालाई समेटेका छन्। मंगलबारको बैठक भने अवरोधका कारण कार्यसूचीमा समावेश गरिएको थिएन।