
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धबारे कडा चेतावनी दिएका छन्। उनले आगामी दुई साताभित्र युद्धविराम वा शान्तिपूर्ण समाधानको ठोस प्रगति नभए रुसविरुद्ध कडा प्रतिबन्ध वा उच्च ट्यारिफ लगाउने निर्णय गर्न बाध्य हुने बताएका छन्।
१५ अगष्टमा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटको एक सातापछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “म एक ठूलो निर्णय लिन गइरहेको छु। चाहे ठूलो मात्रामा प्रतिबन्ध होस् या ट्यारिफ, दुवै हुन सक्छ। अथवा हामी यो पनि भन्न सक्छौं यो अमेरिकाको युद्ध होइन, तिमीहरूको हो।”
उनले हालै युक्रेनमा रहेको अमेरिकी कारखानामा भएको रुसी आक्रमणबारे आक्रोश व्यक्त गरे। उक्त आक्रमणमा आगलागी हुनुका साथै दुई कर्मचारी घाइते भएका थिए।
ट्रम्पले दुवै देशका नेताहरूलाई वार्तामा बस्न आग्रह गर्दै भने, “दुवै नेता एकै ठाउँमा बसेर कुरा गरुन् भन्ने चाहन्छु। यदि उनीहरूले यस्तो गरेनन् भने किन यस्तो भइरहेको छ भन्ने कुरा मैले नै विचार गर्नुपर्ने हुन्छ।”
यसअघि १८ अगष्टमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युरोपेली नेताहरूसँग व्हाइट हाउस पुगेका थिए। ट्रम्पले आफूले पुटिन र जेलेन्स्कीबीच वार्ताको वातावरण बनाउन पहल गरेको दाबी गरे।