
आगामी साफ यू-२० महिला च्याम्पियनसिप २०२५ मा नेपालसहित जम्मा चार राष्ट्रले मात्रै सहभागिता जनाउने भएका छन्। प्रतियोगिता बंगलादेशमा आगामी जुलाई ११ देखि २१ सम्म सञ्चालन हुने तय भएको छ।
साफ क्षेत्रका अन्य देशहरूमध्ये भारत, माल्दिभ्स, र पाकिस्तानले भने यस पटक प्रतियोगितामा सहभागी नहुने निर्णय गरेका छन्। प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने छ, जसअनुसार सबै टिमले एकअर्काविरुद्ध दुई पटक खेल्नेछन्।
प्रतियोगितामा सहभागिता जनाउने राष्ट्रहरू हुन्:
- आयोजक बंगलादेश
- नेपाल
- श्रीलंका
- भुटान
नेपालको महिला यु–२० टोलीले प्रतियोगिताको तयारीका लागि हाल ३ हप्ता देखिको प्रशिक्षण क्याम्प सञ्चालन गरिरहेको छ। टिमका ४० जना खेलाडीहरू प्रशिक्षक यम गुरुङको प्रशिक्षणमा रहेर तयारीमा जुटिरहेका छन्।
साफ महिला फुटबलमा नेपालले पछिल्ला केही वर्ष यथेष्ट प्रदर्शन गर्दै आएको छ र यस पटकको यू–२० संस्करणमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने योजना बनाएको छ।