Join our Channel

सङ्खुवासभामा पहिरोले खाँदबारी–किमाथाङ्का सडक पूर्ण अवरुद्ध, यातायात ठप्प

सङ्खुवासभामा पहिरोले खाँदबारी–किमाथाङ्का सडक पूर्ण अवरुद्ध, यातायात ठप्प

उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रेखोलामा आएको सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार आज बिहान करिब ६ बजे अचानक सुक्खा पहिरो खसेको हो। पहिरो फ्याक्रेखोलाको पुलमाथि खसेपछि उक्त क्षेत्रमा जाने सवारी साधनहरू ठप्प भएका छन्। यसका कारण मकालु गाउँपालिकाका केही वडा र भोटखोला क्षेत्रतर्फको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

डिएसपी बस्नेतले बताएअनुसार यात्रुहरू बीच बाटोमै रोकिएका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या आएको छ।

उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयका सूचना अधिकारी नरेश जिरेलले पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको जानकारी दिए। यद्यपि सडक सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ।

स्थानीय प्रशासनले जनतालाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

Leave a comment