Join our Channel

ताप्लेजुङ विमानस्थलमा फेरि उडान ठप्प, यात्रुहरू सास्तीमा! कारण यस्तो रहेछ

ताप्लेजुङ विमानस्थलमा फेरि उडान ठप्प, यात्रुहरू सास्तीमा! कारण यस्तो रहेछ

ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा नियमित हवाई सेवा पुनः अवरुद्ध भएको छ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) द्वारा सञ्चालन हुँदै आएको ताप्लेजुङ–काठमाडौँ उडान जेठ ३० गतेपछि हालसम्म एकपटक पनि सञ्चालन हुन सकेको छैन। नेपाल एयरलाइन्सका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार वर्षा सुरु भएसँगै मौसममा आएको खराबी र कुहिरोका कारण चार वटा उडानहरू रद्द भइसकेका छन्।

नियमित रूपमा प्रत्येक सोमबार र शुक्रबार काठमाडौँ र ताप्लेजुङबीच सञ्चालन हुने उडान स्थगित भइरहँदा यात्रुहरू सास्तीमा परेका छन्। इञ्चार्ज कार्कीले भने, “मौसम प्रतिकूल भएकाले भिजिबिलिटी न्यून छ, जसले गर्दा सुरक्षाको कारणले उडान गर्न सकिएको छैन।”

शुक्रबारको उडानमा तीन–तीनजना यात्रुका लागि टिकट काटिएको भए पनि मौसममा सुधार नआएकाले उडान रद्द गरिएको थियो। यसले गर्दा यात्रुहरूको आवतजावत प्रभावित भएको छ। टिकट लिएर पनि समयमै गन्तव्यमा पुग्ने विश्वास नभएपछि धेरैजसो यात्रुहरू लामो दूरीको सडक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।

प्रत्येक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेकाले स्थानीय नागरिकहरू अब भरपर्दो र वैकल्पिक यातायात सेवाको माग गरिरहेका छन्। दुर्गम भूगोलमा रहेको ताप्लेजुङमा हवाई सेवा जीवनरेखासरह भएकाले यस्ता समस्या समाधान गर्न दीर्घकालीन रणनीति आवश्यक देखिन्छ।

Leave a comment