
आज नेपालका ५ वटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा आज भारी वर्षा हुन सक्ने अनुमान छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ। यी पाँच प्रदेशका साथै कर्णाली र मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा भारी वर्षा पनि हुनसक्ने मौसमविद्हरूले जानकारी दिएका छन्।
राति पनि देशभर सामान्यतया बदली रहनेछ र माथि उल्लेखित प्रदेशहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना कायम रहनेछ। उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।
वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने भएकाले सहरी र तराई क्षेत्रहरूमा डुबानको खतरा पनि छ। साथै, ठूला र साना नदी नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागले चेतावनी दिएको छ।
यसैले सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरिएको छ।