
बेलायतका चर्चित र्यापर गेट्सले चलाएको कारले ठक्कर दिँदा लन्डनमा २० वर्षका नेपाली युवक युवीन तामाङ्गको मृत्यु भएको छ।
ब्रिटिस प्रहरीले जानकारी दिएको छ कि ४१ वर्षीय र्यापर गेट्समाथि लन्डनको उत्तरपूर्वी क्षेत्रमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा खतरनाक रूपमा सवारी चलाएर गम्भीर चोट पुर्याएको आरोपमा मुद्दा दायर गरिएको छ।
मेट्रोपोलिटन प्रहरीका अनुसार, गेट्सले गत शनिबार इलफोर्ड क्षेत्रमा तामाङ्गलाई ठक्कर दिएपछि कार रोक्ने ठाउँमा नरोकी फरार भएका थिए। घाइते युवकलाई अस्पताल लगिएको थियो जहाँ सोमबार उनको निधन भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
गेट्सलाई सोमबार स्ट्राटफोर्ड म्याजिस्ट्रेट्स कोर्टमा पेश गरिएको थियो। प्रारम्भिक सुनुवाइमा उनलाई डेन्जर ड्राइभिङ्गमा गम्भीर चोट पुर्याएको आरोपमा मुद्दा दायर गरिएको थियो। अहिले गेट्सलाई हिरासतमा राखिएको छ र उनलाई अक्टोबर २७ मा बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा फेरि उपस्थित गराइनेछ।
प्रहरीले दुर्घटनाको प्रत्यक्षदर्शीलाई सम्पर्क गर्न आग्रह गरेको छ। मृतक तामाङ्ग विद्यार्थी भिसामा बेलायत आएका थिए।