Join our Channel

स्वास्थ्य मन्त्रीलाई मेयर हर्क साम्पाङको प्रश्न : कार्यकर्ताको भवनलाई ३ करोड, सिटी अस्पताललाई कति?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई कडा प्रश्न गर्दै सामाजिक सञ्जालमार्फत सरकारको नीति र प्राथमिकताप्रति गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साम्पाङले नेपाल तरुण दलको भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ विनियोजन गरिएको सन्दर्भ उठाउँदै सोधे, “धरानको सिटी अस्पताल बनाउन कति दिने हो?”

उनले लेखेका छन्,
“आफ्नो कार्यकर्ताको लागि भवन बनाउन ३ करोड दिने कांग्रेसले धरानको सिटी अस्पताल बनाउन कति दिँदो रैछ! हेर्छु! पत्र बुझाएको छु अस्ति! स्वास्थ्य मन्त्रीज्यू!”

मेयर साम्पाङले स्वास्थ्य मन्त्री पौडेललाई औपचारिक पत्र बुझाइसकेको उल्लेख गर्दै जनस्वास्थ्यको क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन्।

३ करोडको विवादास्पद बजेट

केही दिनअघि मात्र नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको समाचार सार्वजनिक भएको थियो। उक्त रकम गणेशमान सिंह स्मृति भवनको नाममा भए पनि कार्यकर्ताको भवनमा खर्च गर्न खोजिएको भन्दै आलोचना भएको थियो।

यसपछि नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै, उक्त बजेट नेपाल तरुण दलको लागि नभइ तरुण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवन निर्माणका लागि भएको स्पष्ट पारेका थिए।

जनस्वास्थ्य र प्राथमिकताको प्रश्न

मेयर साम्पाङको प्रश्नले स्थानीय तहमा जनस्वास्थ्य, पूर्वाधार र पारदर्शिताको विषयलाई फेरि सतहमा ल्याएको छ। जनता र स्थानीय तहका लागि अत्यावश्यक स्वास्थ्य संस्थामा राज्यको लगानी अपेक्षित रहेको बेला, कार्यकर्ता केन्द्रित खर्चको आलोचना बढ्दै गएको देखिन्छ।

Leave a comment