Join our Channel

ब्रिटिस गोर्खा सैनिकको माग : वंशजको नेपाली नागरिकता निरन्तर हुनुपर्छ

ब्रिटिस गोर्खा सैनिकको माग : वंशजको नेपाली नागरिकता निरन्तर हुनुपर्छ

बेलायती सेनामा कार्यरत भूतपूर्व गोर्खा सैनिकहरूले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरताको माग गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिहरूले आफूहरूले नयाँ नागरिकता होइन, पहिलेको नागरिकताको निरन्तरता चाहेको स्पष्ट पारेका हुन्।

बैठकमा बोल्दै ब्रिटिस गोर्खा भूपू सैनिक कृष्णकुमार राईले, “हामीले उठाएको माग बेलायती सेनामा नेपाली युवा भर्ती बन्द गर्ने कि नागरिकता निरन्तरता दिने भन्ने हो,” भन्दै गोर्खा सैनिकका सन्तानको हक अधिकार सुनिश्चित गर्न आग्रह गरे।

राईले नेपालले बेलायती सेनामा काम गर्ने गोर्खा सैनिकका कारण वार्षिक करिब २१ करोड पाउन्ड बराबरको आर्थिक लाभ प्राप्त गर्दै आएको उल्लेख गर्दै, राज्यकै सहमतिमा बेलायती सेनामा भर्ती भएका नेपालीलाई नागरिकता नदिने कुरा मानवअधिकारको आधारभूत मापदण्डविपरीत भएको बताए।

बैठकमा अहिले बेलायती सेनामा करिब ३,५०० नेपाली गोर्खा सैनिक कार्यरत रहेको र करिब २२,००० भूपूगोर्खा रहेको जानकारी दिइयो। राईले थपे, “युद्धमा मरे बेलायती हुने, बाँचेर फर्किए नेपाली बनाइने अवस्था बदलिनु आवश्यक छ। नेपाल र बेलायतबीच यसबारे स्पष्ट संवाद हुनुपर्छ।”

भूपू गोर्खा सैनिक होम किराती सुनुवारले करिब २१० वर्षदेखि बेलायत र नेपालबीच गोर्खा सैनिकहरूले मित्रताको पुल बनाउँदै आएको स्मरण गर्दै भने, “हामीलाई बेलायती राहदानी लिनु बाध्यता थियो, रहर होइन।”

अर्का भूपू सैनिक हिमाल राईले बेलायती सेनामा नेपाली युवाको योगदानले नेपाललाई निरन्तर रूपमा वैदेशिक मुद्रा भित्र्याउँदै आएको भन्दै गोर्खा सैनिकका सन्तानको नागरिकता सुनिश्चित गरिनु पर्ने बताए।

संबन्धित बैठक नागरिकता ऐन २०६३ मा संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आयोजना गरिएको हो। समितिले ब्रिटिस गोर्खा सैनिकका माग सुनेर सुझाव संकलन गरेको छ। यसअघि, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पनि गोर्खा सैनिकहरूको न्याय र समानतासँग जोडिएको माग सम्बोधन गर्न सरकारलाई आवश्यक पहल गर्न निर्देशन दिइसकेको छ।

Leave a comment