Join our Channel

परिवारकै मिलेमतोमा युवतीको हत्या : ६ वर्षपछि बुबा पक्राउ, छोरा र आमा अझै फरार

परिवारकै मिलेमतोमा युवतीको हत्या : ६ वर्षपछि बुबा पक्राउ, छोरा र आमा अझै फरार

झापा निवासी एक २१ वर्षीया युवतीको ६ वर्षअघि विराटनगरमा भएको निर्मम हत्याको घटनामा संलग्न एक अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन्। झापाको अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगरमा डेरा लिएर बस्दै आएकी ईशा योगी शेर्पाको २०७६ साल वैशाख ८ गते हत्या गरिएको थियो।

डीएसपी कोपिला चुँडालका अनुसार ईशाको प्रेम सम्बन्ध एसराजका छोरा रुद्रराज लामा (जो रेम्बो नामले चिनिन्थे) सँग थियो। रुद्रराजले आफ्नी प्रेमिकालाई घरमा बोलाएर परिवारको मिलेमतोमा पेट्रोल छर्की आगो लगाएका थिए। यस घटनामा गम्भीर घाइते भएकी ईशाको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।

हत्या पछिको ६ वर्ष लामो फरार जीवन

घटनापछि रुद्रराज, उनकी आमा र बुवा एसराज लामा फरार थिए। प्रहरीले २०७६ साल जेठ १३ गते कर्तव्य ज्यानको मुद्दा दर्ता गरेको भए पनि उनीहरू लामो समयसम्म फरार थिए। पछिल्लो समय एसराजलाई शनिबार विराटनगरस्थित घरबाटै पक्राउ गरिएको हो। तर, रुद्रराज र उनकी आमा अझै फरार छन्।

प्रहरीका अनुसार रुद्रराज विदेश भागेका छन् भने उनलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाउने तयारी भइरहेको छ। आमाको भने हालसम्म कुनै सुराक फेला परेको छैन।

प्रहरीले पक्राउ परेका एसराजविरुद्ध आइतबार अदालतबाट म्याद थप गराएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Leave a comment