
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर र रजिस्ट्रार दुई सातादेखि कार्यालय जान नसक्दा विश्वविद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको छ। जेठ १४ गते नेविसंघ निकटका स्ववियु पदाधिकारीहरूले उपकुलपति कार्यालय तोडफोड गरी तालाबन्दी गरेपछि पदाधिकारीहरू कार्यालय जान सकेका छैनन्।
उक्त घटनामा रेक्टर र रजिस्ट्रारको कार्यालय पनि तालाबन्दी गरिएको थियो। तालाबन्दीका कारण निमित्त उपकुलपति डा. खड्ग केसी, रेक्टर डा. दुविनन्द ढकाल र रजिस्ट्रार डा. केदार रिजाल कार्यालय प्रवेश गर्न सकेका छैनन्। कर्मचारीहरू भने वैकल्पिक ढोका प्रयोग गरेर कार्यालय आउजाउ गरिरहेका छन्।
इन्जिनियरिङ अध्ययन संस्थानबाट काम संचालन
उपकुलपति र रजिस्ट्रारले प्रशासनिक काम पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट सञ्चालन गरिरहेका छन् भने रेक्टर डा. ढकालले मानविकी संकाय डिन कार्यालयबाट दैनिक कार्यसम्पादन गरिरहेका छन्। ‘कार्यालयमै नपुगे पनि आवश्यक कागजात लिएर काम अघि बढाइरहेका छौं,’ एक कर्मचारीले जानकारी दिए।
तोडफोडमा संलग्नहरू पक्राउ, अनुसन्धान अघि बढ्दै
तोडफोडमा संलग्न भएको आरोपमा भक्तपुर सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्की र शंकरदेव क्याम्पसका विद्यार्थी लोकेश कुँवरलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
यस्तै, त्रिविका अनुसार शंकरदेव क्याम्पसका मदनराज उपाध्याय, भुवन ओझा, गजेन्द्र बम, सविन भट्ट, सोनु साह, किशोर थापा, भोजराज भनिने कार्यकर्ता, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, पब्लिक युथ क्याम्पसका सन्तोष श्रेष्ठ, भक्तपुर क्याम्पसका पुकार पराजुली, कैलाशकुट क्याम्पसका मुरारी गौतम, कान्तिपुर कलेजका अंशु फुयाल र काभ्रे बहुमुखी क्याम्पसका रोहित पराजुली समेत तोडफोडमा संलग्न थिए।
राजनीतिक संरक्षणको आरोप, कारबाहीमा ढिलाइ
विगतमा पनि विद्यार्थी संगठनबाट बारम्बार तोडफोड हुँदै आएपनि राजनीतिक संरक्षणका कारण दोषी उम्किँदै आएको आरोप लाग्दै आएको छ। यसपटक त्रिवि कार्यकारी परिषद्ले कीर्तिपुर प्रहरी वृत्तमा उजुरी दिए पनि किटानी जाहेरीको अभाव देखाउँदै प्रहरी निष्क्रिय देखिएको छ।
सीसीटीभी फुटेज सार्वजनिक, सामाजिक सञ्जालमा जिम्मेवारी स्वीकार
तोडफोडको घटना सीसीटीभीमा कैद भएको र संलग्न विद्यार्थीहरूले फेसबुकमार्फत सार्वजनिक रुपमा जिम्मेवारी लिएको त्रिविले जनाएको छ। उनीहरूले उपकुलपतिलाई भेट्न खोज्दा प्रहरीले बल प्रयोग गरेको दाबी गरेका छन्।
यसअघि फागुनमा पनि रेक्टर कार्यालयमा तोडफोड भएपनि गृह मन्त्रालयको बेवास्ताका कारण कुनै कारबाही हुन सकेको थिएन।