
मंगलबार दिउँसो पाथीभरा क्षेत्रमा आएको वर्षासहितको भीषण हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति पुर्याएको छ। काफ्ले पाटी र बलुडाँडा क्षेत्रमा हावाहुरीले घरका छाना, होर्डिङबोर्ड, फलैँचा र चौतारा उडाएको स्थानीयले जानकारी दिएका छन्।
स्थानीय समय अनुसार अपराह्न ४ बजेपछि सुरु भएको हावाहुरीले काफ्ले पाटीमा देउमान लामाको घरको सबै जस्तापाता उडाएको छ भने दलबहादुर पौडेलको भान्साघरको छानासमेत उडाएको स्थानीय राजमणि पोख्रेलले बताए।
त्यसैगरी, सोलार प्यानलहरू झरेर भुइँमा फुटेका छन् भने केही भागहरू छरपस्ट भएका छन्। माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार बलुडाँडामा डिल्लीराम भट्टराई खत्रीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने विश्वकर्मा पार्टीको टेन्टसमेत पूर्णरूपमा भत्किएको छ।
खगेन्द्र केरुङ लिम्बूको घरको छाना हावाले उचालेर जंगलमा पुर्याएको छ भने टेकमान भट्टराई खत्रीको घरको छानासमेत उप्किएको छ। भञ्ज्याङ खाजाघर नजिकको फलैँचा पनि उचालेर जंगलमै पुगेको भट्टराईले जानकारी दिए।
स्थानीयका अनुसार असिनाले जमिनका झारपात तथा रुखका हाँगासमेत भाँचिएको छ। हावाहुरी र असिनाले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको छ।