
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानको काममा ठूलो अनियमितता भएको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चक्रघट्टा गाउँपालिकाको वडा नं. १ देखि ९ सम्म सौर्यबत्ती जडान गर्न दुई करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, सो बजेटलाई टुक्र्याएर पाँच वटा प्याकेज बनाई प्रक्रिया विपरीत ढंगले खरिद तथा जडान गरिएको खुलेको छ।
सोही क्रममा तीन वटा फर्मबीच मात्र प्रतिस्पर्धा गराई दुई करोड ५३ लाख १७ हजार २५० रुपैयाँ बराबरको अनुमान स्वीकृत गर्दै बोलपत्र आह्वान गरिएको थियो। अन्ततः दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ विभिन्न कम्पनीलाई भुक्तानी गरिएको थियो।
यस अनियमिततामा संलग्न भन्दै आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइञ्जिनियर सन्तोष राय र राजु राय विरुद्ध समान रकमको बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
त्यसैगरी, लेखा अधिकृत शिवशङ्करप्रसाद कुशवाहा विरुद्ध ४७ लाख ४९ हजार ५६० रुपैयाँ, स्काई राइज ट्रेडिङ कन्सर्नका सञ्चालक जयप्रकाश यादव विरुद्ध ५८ लाख ३९ हजार ८४० रुपैयाँ, एसके स्टोर्सका सञ्चालक रञ्जुकुमारी साह विरुद्ध ९५ लाख २३ हजार ९१० रुपैयाँ र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसनकी सञ्चालक सङ्गीताकुमारी विरुद्ध ९५ लाख ७६ हजार ३६० रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।