Join our Channel

लेखा अधिकृत हाजिर हुन आउँदा प्रमुख बेपत्ता, कार्यालयमा विवाद

लेखा अधिकृत हाजिर हुन आउँदा प्रमुख बेपत्ता, कार्यालयमा विवाद

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा अर्थ मन्त्रालयबाट सरुवा भएर आएका लेखापाल हाजिर गराउन आएपछि कार्यालय प्रमुख बेपत्ता भएका छन्।

अर्थ मन्त्रालयले असार मसान्तको हिसाब-किताब मिलाउन लेखापाल ज्ञानेन्द्रकुमार यादवलाई खटाएको थियो। उनी बिहीबार स्वास्थ्य कार्यालय सर्लाहीमा हाजिर हुन पुगेका थिए। तर, स्वास्थ्यका निमित्त प्रमुख डा. नवलकिशोर झा कार्यालयमै रहेको समयमा अचानक आफ्नो कार्यकक्ष छोडेर बाहिर निस्केका छन्।

यादवले मन्त्रालयको आदेश र सरुवा पत्र लिएर कार्यालय पुगेका केही क्षणमै प्रमुख डा. झा टेबलमा चस्मा र साँचो छोडेर बाहिरिएर मोबाइल फोन समेत अफ गरेर सम्पर्कविहीन बनेका थिए।

सूत्रका अनुसार, डा. झा असार मसान्तको काम सुरु हुनु अगावै नयाँ लेखापाल हाजिर गराउने पक्षमा थिएनन्। प्रमुख सम्पर्कविहीन भएपछि कार्यालयमा दोस्रो वरीयतामा रहेका तथ्यांक अधिकृत लालबाबु रायले यादवलाई विधिवत रूपमा हाजिर गराएका छन्।

यसअघि, स्वास्थ्य कार्यालयको लेखा जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए।

स्वास्थ्य कार्यालयमा भएको यो घटनाले सरकारी संयन्त्रभित्रको गम्भीर अव्यवस्था र शक्तिको दुरुपयोगको संकेत गर्छ। यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

Leave a comment