Join our Channel

पाल्पाको हुँगी गाउँमा लिची खेतीबाट वार्षिक २ करोड रुपैयाँ आम्दानी

पाल्पाको हुँगी गाउँमा लिची खेतीबाट वार्षिक २ करोड रुपैयाँ आम्दानी

पाल्पाको रम्भा गाउँपालिका–१, हुँगी मझुवाका किसान जगतबहादुर कार्की र उनकी पत्नी रामप्यारी अहिले लिची टिप्न र बजार पठाउन व्यस्त छन्। लिचीको सिजन छोटो भएकाले छिटो टिपेर बिक्री गर्नुपर्ने हुन्छ, नत्र किराले असर पुर्‍याउन सक्छ। यसै कारणले गर्दा अहिले उनीहरूलाई लिची संकलनमा हतारो छ।

२०५३ सालमा फोक्सिङ डाँडाबाट हुँगी मझुवामा बसाईँ सरेका कार्कीले हाल ७५ वटा लिचीका बोटबाट वार्षिक ५ लाख भन्दा बढी आम्दानी गर्छन्। यस वर्ष थप लिचीका बिरुवा लगाउने योजना पनि बनाइरहेका छन्। गाउँपालिकाले अनुदानमा बिरुवा उपलब्ध गराउँदै आएको छ।

रम्भा गाउँपालिकामा अहिले धेरै ठाउँमा नगदेबाली लिची खेती बढिरहेको छ। गाउँपालिका र स्थानीय वडाले लिची खेतीलाई व्यावसायिक बनाउन ठूलो सहयोग गरिरहेका छन्। कालीगण्डकी करिडोर सडक स्तरोन्नति भएसँगै बजारसम्म पहुँच सजिलो भई किसानहरूको उत्साह बढेको छ।

लिची खेतीले यहाँको समृद्धिमा ठूलो योगदान पुर्याएको छ। गाउँपालिकाका तथ्यांकअनुसार हुँगी क्षेत्रबाट वार्षिक दुई करोड रुपैयाँ आम्दानी भित्रिन थालेको छ। यसले यहाँको बसाईसराईलाई समेत रोक्न मद्दत गरेको स्थानीय युवाहरू बताउँछन्।

युवा किसानहरू लिची खेतीमा आकर्षित भई व्यवस्थापन र आधुनिक कृषि उपकरणहरू आवश्यक रहेको सुझाव दिइरहेका छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा लिची पकेट क्षेत्र विकासमा २० लाख रुपैयाँ लगानी गरिसकेको छ।

पाल्पा जिल्लामा कुल ५ सय ७० हेक्टर क्षेत्रफलमा लगभग ९८० मेट्रिकटन वार्षिक लिची उत्पादन भइरहेको छ। व्यावसायिक लिची उत्पादन बढेपछि नेपालका विभिन्न शहरबाट व्यापारीहरू यहाँ आउन थालेका छन्।

Leave a comment