Join our Channel

गृहमन्त्री लेखकको स्पष्टीकरण : “भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन”

गृहमन्त्री लेखकको स्पष्टीकरण : "भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन"

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूको कुनै पनि संलग्नता नरहेको र हुनै नसक्ने दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै उनले सामाजिक सञ्जाल र मिडियामा फैलाइएका आरोपहरू पूर्णतः आधारहीन र नियोजित षड्यन्त्र भएको बताएका छन्।

गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफू आवश्यक परेमा आयोगमा उपस्थित हुन पनि तयार रहेको स्पष्ट पारे। साथै, उनले कर्मचारीको संलग्नतालाई लिएर मन्त्रीले राजीनामा दिनुपर्ने माग अनुचित भएको जिकिर गरे।

“अख्तियारले अनुसन्धान थालेको विषयमा मेरो कुनै संलग्नता छैन। सामाजिक सञ्जालमा फैलाइएका हल्ला र प्रचारहरू राजनीतिक आक्रमणको हिस्सा हुन्,” मन्त्री लेखकले भने, “यस विषयलाई म सम्मानित सदनमा स्पष्ट पार्न चाहन्छु।”

लेखकले आफ्नो चरित्र हत्या गर्ने नियोजित प्रयासप्रति गहिरो खेद प्रकट गरे। उनले संवैधानिक निकायहरू स्वतन्त्र रूपमा अनुसन्धान गरिरहेकाले कुनै पनि मन्त्री वा सरकारलाई अनावश्यक रूपले जोड्नु नहुने धारणा राखे।

प्रतिनिधिसभा तनावग्रस्त

मन्त्री लेखकले आफ्नो धारणा राखिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाउँदै नाराबाजी गरेका थिए। दुबै दलले भिजिट भिसा प्रकरणको गम्भीर छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएका छन्।

यद्यपि सत्तारूढ माओवादी केन्द्र संसदको गतिरोध अन्त्य गर्न तयार देखिएको भए पनि, रास्वपा र राप्रपा सहमतिमा आउन अझै तयार देखिएका छैनन्। यस्तो परिस्थितिमा सभामुख देवराज घिमिरेले सदन सञ्चालन अगाडि बढाएका छन्।

Leave a comment