
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा सत्ता पक्ष र माओवादीबीच भएको सहमतिलाई “लुटतन्त्रको रक्षा”का लागि भएको टिप्पणी गरे।
“हामीले १८ दिनदेखिको नाटक हेर्दै आएका छौँ। देशले हेरेको छ। अहिले प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो। यो गणतन्त्रको रक्षा नभएर लुटतन्त्रको रक्षा हो भन्ने कुरा आम जनताले बुझेका छन्,” अध्यक्ष लिङ्देनले संसदमा भने।
त्यस्तै, उनले सरकारमाथि आलोचना गर्दै व्यक्तिको अभिव्यक्ति र लेखाइका आधारमा पक्राउ आदेश जारी गरिएको आरोप पनि लगाए।
“सरकारले जंगे शासनको अभ्यास गर्न खोजिरहेको छ। लेखेको र बोलेको आधारमा पक्राउ पुर्जी जारी गर्नु लोकतन्त्रको अपमान हो,” उनले भने।
लिङ्देनको भनाइले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीचको भूमिका र निष्पक्षताको सवालमा पुनः बहस चर्किएको छ।