
भक्तपुर र काभ्रे जिल्लाबाट प्रहरीले एकैदिन जुवातास खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ठूलो परिमाणमा नगद रकम र ताससमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरूटारस्थित ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवा खेलिरहेका अवस्थामा उनीसहित १२ जनालाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले छापा मारेर उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको जानकारी दिएको छ।
त्यसैगरी, काभ्रेको पनौती नगरपालिका–५ ढलममा डेरा गरी बस्ने ४७ वर्षीय सञ्जीव कुमार श्रेष्ठको कोठामा जुवा खेलिरहेका ५ जनालाई शनिबार साँझ पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रुपैयाँ र ३ बुक तास सहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।