
नेपाल विद्युत् प्राधिकरणले शनिबार राति १२ बजेदेखि (असार १ गते, जुन १५) भारतको प्रसारण लाइन हुँदै बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। यसअघि गत कात्तिक ३० गते (नोभेम्बर १५) नेपालले पहिलोपटक छोटो समयका लागि बंगलादेशलाई बिजुली आपूर्ति गरेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार यो विद्युत् व्यापारबाट नेपालले मासिक २५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ र आगामी पाँच महिनामा मात्रै १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व आर्जन हुने अनुमान गरिएको छ।
मन्त्री खड्काले दक्षिण एशियामा तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो देश नेपाल भएकोमा गौरव व्यक्त गर्दै भने, “बंगलादेशसँगको यो व्यापारिक सम्बन्ध हाम्रो राष्ट्रको ऊर्जा कूटनीतिमा ऐतिहासिक कदम हो।”
ऊर्जा सचिव सुरेश आचार्यका अनुसार हाल बंगलादेशतर्फ ४० मेगावाट मात्रै निर्यात भइरहेको भए पनि आगामी दिनमा ५,००० मेगावाटसम्म निर्यात गर्ने लक्ष्य रहेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल अब ऊर्जा व्यापारको युगमा प्रवेश गरिसकेको बताए। उनले भने, “अब लोडसेडिङ छैन र हुँदैन पनि। हामीसँग उत्पादन धेरै छ र बजार पनि विस्तार हुँदैछ।”
गत असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबीच विद्युत् कारोबारको सम्झौता भएको थियो।
यस ऐतिहासिक कदमले नेपाललाई आर्थिक र कूटनीतिक रुपमा बलियो बनाउने अपेक्षा गरिएको छ।