
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश सरकारको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आइतबार अर्थमन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै कृषि, उद्योग, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए।
उक्त बजेटमा १२ अर्ब १ करोड ४७ लाख ८६ हजार (३०.८८%) चालु खर्च र २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार (६०.३२%) पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
अर्थमन्त्री कार्कीले ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार (८.८०%) वित्तीय हस्तान्तरणको लागि छुट्याइएको जानकारी गराए।
बजेटको प्राथमिकता:
लुम्बिनी प्रदेश सरकारले “समृद्ध लुम्बिनी, खुसी नागरिक”को दीर्घकालीन दृष्टिकोणसहित यस वर्षको बजेटमा निम्न क्षेत्रहरूमा केन्द्रित गरेको छः
- कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि
- गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच
- उद्यमशीलता र रोजगारी सृजना
- दिगो पूर्वाधार विकास
- समावेशी तथा सामाजिक न्याय आधारित विकास
- गरिबी न्यूनीकरण र आर्थिक असमानताको अन्त्य
अर्थमन्त्री कार्कीले बजेटले उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आयोजना तयार पारिएको बताए। साथै, बजेटले रोजगारी सिर्जना, सामाजिक समावेशीकरण, र आर्थिक सशक्तिकरणमा टेवा पुग्ने स्पष्ट पारे।