
अबदेखि वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँका बासिन्दाका घरघरमा नियमित रुपमा वितरण हुने भएको छ। खानेपानीमन्त्री प्रदीप यादवले सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको पानी ट्याङ्कीको निरीक्षणपश्चात यस्तो जानकारी दिएका हुन्।
मन्त्री यादवले भने, “रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भइसकेको छ। अब वर्षायामको जोखिमलाई ध्यानमा राख्दै सो खोलाको पानी मेलम्ची सुरुङमार्फत काठमाडौँमा आपूर्ति गरिनेछ।”
उनका अनुसार रिबर्मा खोलाबाट वर्षाको समयमा पनि पाँचदेखि सात करोड लिटर पानी सुरुङमार्ग हुँदै काठमाडौँमा पठाउने तयारी गरिएको छ। यसले उपत्यकाको दीर्घकालीन पानी समस्या समाधान हुने उनको दाबी छ।
“हामी जनताप्रति उत्तरदायी सरकार हौँ,” मन्त्री यादवले भने, “अब वर्षायाममा पनि नागरिकले पानीको अभाव झेल्नुपर्दैन।”
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेका अनुसार, आवश्यक भौतिक संरचना निर्माण भइसकेको छ। हालै सुरुङमार्फत पानी ल्याउने परीक्षण पनि सफल भएको छ। उनले विगतमा वर्षा र बाढीले सुरुङ बन्द गरिनुपर्ने अवस्था आएको भए पनि यसपटक प्रविधिमा विशेष ध्यान दिइएको जानकारी दिए।
मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी तथा आपूर्ति टोली २४ सै घण्टा खटिएका छन्। सुरुङमार्ग तथा वितरण प्रणालीको मर्मत र सुरक्षालाई मजबुत बनाइएको जनाइएको छ।
२०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुख्य मुहानमा गम्भीर क्षति पुर्याएको थियो। त्यसयता वर्षायाममा नियमित आपूर्ति असम्भवजस्तै बनेको थियो। तर अब त्यो चुनौती समाधानको दिशामा उन्मुख भएको देखिन्छ।