Join our Channel

मोदी–ट्रम्पबीच ३५ मिनेट लामो फोनवार्ता, ‘अपरेशन सिन्दूर’ र भारत–पाक तनावबारे छलफल

मोदी–ट्रम्पबीच ३५ मिनेट लामो फोनवार्ता, ‘अपरेशन सिन्दूर’ र भारत–पाक तनावबारे छलफल
Getty Images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ३५ मिनेट लामो टेलिफोन वार्ता सम्पन्न भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, दुबै नेताबीच ‘अपरेशन सिन्दूर’, पहलगाम आतंकवादी हमला र भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे गम्भीर छलफल भएको हो।

प्रधानमन्त्री मोदीले आतंकवादविरुद्ध भारतले चलाएको ‘अपरेशन सिन्दूर’को बारेमा राष्ट्रपति ट्रम्पलाई विस्तृत जानकारी दिएका थिए। साथै, भारत र पाकिस्तानबीचको हालैको प्रत्यक्ष संवादबारे पनि चर्चा भएको थियो। मोदीले भारतले हाललाई सैन्य कारबाही रोकेको जानकारी दिँदै द्विपक्षीय छलफलमार्फत समाधान खोजिएको स्पष्ट पारे।

तर, राष्ट्रपति ट्रम्पले भने आफ्नो मध्यस्थताकै कारण भारत–पाकिस्तानबीच युद्धविराम सम्भव भएको दाबी गरेका छन्।

भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार, प्रधानमन्त्री मोदी र ट्रम्पको यो फोन संवाद G-7 शिखर सम्मेलनमा तय गरिएको भेट असम्भव भएपछि भएको हो। राष्ट्रपति ट्रम्प अचानक अमेरिका फर्किन बाध्य भएपछि भेट टरेको र त्यसपछि ट्रम्पको अनुरोधमा फोनवार्ता भएको मिस्रीले जानकारी दिए।

उनका अनुसार, वार्ताको क्रममा अप्रिल २२ मा भएको पहलगाम आतंकवादी हमलापछि ट्रम्पले मोदीलाई फोन गरेर संवेदना प्रकट गरेका थिए। त्यसपछि आतंकवाद र क्षेत्रीय स्थायित्वसम्बन्धी विषयमा नेताबीच पुनः संवाद भएको हो।

भारत–अमेरिका सम्बन्ध थप मजबुत बनाउने दिशामा दुई नेताबीचको यो संवाद महत्त्वपूर्ण मानिएको छ।

Leave a comment