Join our Channel

सहकारी ठगी काण्ड: अध्यक्षसहित १२ जनासँग ८० लाख धरौटी माग, ३ जना अझै फरार

सहकारी ठगी काण्ड: अध्यक्षसहित १२ जनासँग ८० लाख धरौटी माग, ३ जना अझै फरार

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको पाल्ही बहुमुखी सहकारी संस्थामा ठगी प्रकरणमा अध्यक्ष रामकिशोर तेलीसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। तीमध्ये १२ जना धरौटी बुझाएर तारेखमा रिहा भएका छन् भने ३ जना अझै फरार छन्।

सहकारीमार्फत बचतकर्ताको ८५ लाखभन्दा बढी रकम हिनामिना गरिएको आरोपमा मुद्दा दर्ता गरिएको हो। अदालतका अनुसार, अध्यक्ष रामकिशोर तेलीबाट १५ लाख, उपाध्यक्ष नाथु माली र लेखा संयोजक सन्तराम प्रसाद यादवबाट जनही १० लाख, अन्य ९ जना सदस्यहरूबाट जनही ५ लाख धरौटी माग गरिएको छ।

धरौटी तिरेका सदस्यहरूमा सुरेशप्रसाद चौधरी, वीरेन्द्रकुमार यादव, रामसेवक चौधरी, रवीन्द्र पासी, प्रमोद यादव, सुग्रिव तिवारी, जानकीदेवी कुर्मी, इजहार धुनिया, र रामानन्द यादव रहेका छन्।

तर, कमलादेवी कहाँर, सञ्जय कुर्मी, र मुनलाल यादव भने हालसम्म पनि फरार रहेको अदालतले जनाएको छ।

सहकारीले लामो समयदेखि निर्वाचन नगरेको, लेखा परीक्षण नगराएकोबचतकर्ताको रकम फिर्ता नगरेको गुनासो पछि ठगी प्रकरण बाहिर आएको हो। यसै आधारमा २०८१ फागुन ११ गते अदालतमा ठगी मुद्दा दर्ता गरिएको हो।

अदालतले ८५ लाख ८० हजार ७५५ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरिएको जानकारी दिएको छ। दोषी प्रमाणित भएमा बिगो बराबरको जरिवाना र ३ देखि ४ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ।

मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छ भने पीडितहरू आफूहरूले बचत गरेको रकम फिर्ता पाउने आशामा छन्।

Leave a comment