
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा सोही वडाका ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन्। मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका ब्लोनको शव बुधबार बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रमा क्षतविक्षत अवस्थामा फेला परेको हो।
वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार स्थानीयहरू जंगलमा खोज्न जाँदा बाघले खाइरहेको अवस्थामा उनको शव भेटिएको हो। शव भेटेपछि प्रहरी, स्थानीय जनप्रतिनिधि र बासिन्दाहरू घटनास्थल पुगेका थिए।
ब्लोन विवाहित थिएनन् र लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।
यस घटनापछि अमलेखगञ्ज क्षेत्रका स्थानीयहरूमा भय र चिन्ता फैलिएको छ। वन क्षेत्रमा सुरक्षा व्यवस्थामा थप कडाइ गर्ने मागसमेत उठ्न थालेको छ।