Join our Channel

तीन वर्षमा ७.१% आर्थिक वृद्धि, सरकारले खर्च नीति पुनः संरचना गर्ने

तीन वर्षमा ७.१% आर्थिक वृद्धि, सरकारले खर्च नीति पुनः संरचना गर्ने

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यमकालीन खर्च संरचनाअनुसार नेपालमा आगामी तीन वर्षभित्र औसत ७.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। आयोगले आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्मको खर्च योजना, प्राथमिकता, स्रोत व्यवस्थापन र बजेटको विनियोजनको स्पष्ट खाका प्रस्तुत गरेको छ।

रिपोर्ट अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ। गत वर्ष ऋणात्मक वृद्धि देखिएका उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा यस वर्षको दोस्रो त्रैमासिकदेखि उत्साहजनक वृद्धि देखिएको उल्लेख छ।

यो खर्च संरचनाले दीगो विकास लक्ष्य (SDG) र सोह्रौं योजना कार्यान्वयनमा समेत सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

१५ वर्षमा पाँच गुणा बढ्यो जीडीपी
आर्थिक वर्ष २०६७/६८ मा १५ खर्ब ५९ अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन (GDP) चालु वर्षमा ६१ खर्ब ७ अर्ब पुगेको छ। यस अवधिमा प्रतिव्यक्ति आय पनि ८१८ अमेरिकी डलरबाट १५१७ अमेरिकी डलरमा पुगेको छ।

सेवा क्षेत्रको हिस्सा GDP मा ६२ प्रतिशत पुगेको छ भने प्राथमिक र द्वितीय क्षेत्र क्रमशः घटेर २५ प्रतिशत र १२.४ प्रतिशतमा सीमित भएका छन्। विद्युत् तथा ग्यास, निर्माण, व्यापार, सार्वजनिक प्रशासन र आवास क्षेत्रहरूमा आर्थिक वृद्धिमा मुख्य योगदान रहेको आयोगको रिपोर्टले देखाएको छ।

खर्चको पारदर्शिता र दक्षतामा सुधार
आयोगले बजेटको कार्यान्वयन क्षमता, पारदर्शिता, खर्च अनुशासन र दक्षता बढाउने गरी आयोजनाको पुनःप्राथमिकीकरण गर्ने नीति अपनाएको छ। खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार निर्माण, ऊर्जा, यातायात लगायतका क्षेत्रका योजनाहरू पुनः मूल्यांकन गरिएका छन्।

रुग्ण र दोहोरिएका आयोजनाहरूको बजेट कटौती गरिने छ भने प्रतिस्पर्धी, समयमै सकिने योजनाहरूलाई प्राथमिकता दिइने नीति लिइएको छ।

आयोजनाको गहिरो मूल्यांकन
राष्ट्रिय गौरवका योजनाहरूलाई पनि बजेट विनियोजन अघि ११ वटा मापदण्डमा आधारित मूल्यांकन गरिएको छ – जसमा आर्थिक स्रोत, भौतिक प्रगति, जोखिम, लाभग्राही संख्या, लागत, सुप्तता (Dormancy), कार्य जटिलता आदि समावेश छन्। यो विश्लेषणको ८० प्रतिशत भाग प्राविधिक र २० प्रतिशत नीतिगत आधारमा गरिएको छ।

Leave a comment